WECAN

water

News & Events

नरेन्द्र मोदीको नेपाल भ्रमण र यससँग जोडिएका विषयहरु

नरेन्द्र मोदीको नेपाल भ्रमण र यससँग जोडिएका विषयहरु  भारतीय राजनीतिमा चर्चाको शिखरमा रहेका नरेन्द्र मोदी वर्तमानमा भारतीय प्रधानमन्त्री एवं राजनीतिक सुपरपावर समेत भएकोले नेपालको आर्थिक विकासमा यो भ्रमण पक्कै पनि फलदायी हुनेछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही श्रावण तेस्रो साता नेपाल भ्रमणमा आउने पक्का पक्की भएपछि नेपाली संचार जगत यतिवेला मोदीमय भएको छ र दुवै देशका उच्च पदस्थ अधिकारहरु यस भ्रमणको अवसरमा उठाउने औपचारिक प्रस्तावहरुको तयारी गरिरहेका छन् । यसै शिलशिलामा भोलि भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउँदै हुनुहुन्छ र यस भ्रमणलाई भारतको तर्फबाट समेत महत्वपूर्ण रुपमा हेरिएको आकलन गर्न सकिन्छ । भारतीय राजनीतिमा चर्चाको शिखरमा रहेका नरेन्द्र मोदी वर्तमानमा भारतीय प्रधानमन्त्री एवं राजनीतिक सुपरपावर समेत भएकोले नेपालको आर्थिक विकासमा यो भ्रमण पक्कै पनि फलदायी हुनेछ । 

 

 

  नेपाल र भारत सामान्य छिमेकी मात्र नभएर लामो समयदेखि सामाजिक, आर्थिक धार्मिक, सांस्कृतिक, राजनीतिक एवं अन्य विविध आयाम भित्रका अत्यन्त घनिष्ट छिमेकीहरु हुन् । बेलाबेलामा नेपाली राजनीतिमा भारतको बढी हस्तक्षेप रहेको र नेपालको आन्तरिक मामिलामा खुलेआम हस्तक्षेप गर्ने गरेको लगायतका राजनीतिक प्रसंँगहरु उठ्ने नगरेका भने होईनन् । तरपनि वर्तमान सूचना, संचार र प्रविधिको जमानामा भूगोलको आधारमा मात्रै कुनै देश शक्तिसम्पन्न हुन सक्छ भन्ने छैन । जसरी एउटा जंगलमा ठूला र साना विरुवाहरु एकै साथ हुर्किरहेका हुन्छन् त्यसैगरी नेपाल र भारतवीचको सम्बन्ध पनि जंगलका रुखविरुवाहरु जस्तै आआफ्नो सहअस्तित्व र पहिचानमा हुर्कने माहोल निरन्तर कायम रहनुपर्छ । 
यसै भ्रमणको सन्दर्भलाई लिएर नेपाली पत्रकारिता जगत अहिले मोदीमय भएको छ र नेपाल भारतवीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि नेपाली पक्षबाट निम्न प्राथमिकताका साथ सबालहरु उठाउनु सान्दर्भिक हुनसक्छ । 
(१) विशेष गरी सुस्ता र कालापानी क्षेत्रमा देखिएको सीमा समस्यालाई समाधान गर्ने नीतिगत टुंगो लगाउनुपर्छ । 
(२) नेपाल हाल राजनीतिक संक्रमणबाट गुज्रिरहेको र संविधान जारी गर्ने सन्दर्भमा हुन सक्ने संभावित खतराहरुलाई मध्यनजर गर्दै एवं अन्य अपराधिक गतिविधिलाई समाधान गर्न सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सहमति गर्नुपर्छ । 
(३) सार्क स्तरीय विकास बैंक स्थापना गर्न नीतिगत सहमति गर्नुपर्छ । 
(४) नवीकरणीय ऊर्जाको दीर्घकालीन विकासको लागि अन्र्तदेशीय प्रसारण लाईनको विकास गर्ने र द्धिपक्षीय सम्झौताको आधारमा पूर्वाधार विकास गर्ने नीतिगत सम्झौता गर्नु सान्दर्भिक हुनसक्छ । 
(५) नेपालको जलविद्युतको संभावित बजार भारत लगायतका अन्य सार्क राष्ट्रहरु रहेका र नेपालको जलस्रोत विकासमा भारतको सहयोग समेत अपरिहार्य छ । त्यसैले भारतीय कम्पनी जिएमआरले निर्माण गर्ने भनिएको अपर कर्णाली जलविद्युत आयोजनाको क्षमता बढाएर पूर्ण क्षमतामा यसको भारतीय पक्षबाट निर्माण गर्ने थप स्पष्ट सम्झौता यस भ्रमणमा गर्न सकिएको अवस्थामा नेपाल भारतबीच जलस्रोत विकासको नयाँ आयाम शुरु हुन सक्ने संभावना रहेको छ । 
(६) कृषि क्षेत्रको आधुनिकीकरणको लागि समेत नेपाल र भारत सरकारको बीचमा स्पष्ट द्धिपक्षीय सहयोगको आदान प्रदान गर्ने अवसरको रुपमा यस भ्रमणलाई लिन सक्ने संभावना रहेको छ ।
(७) बर्षायामको समयमा बाढीको कारणले भारत तथा नेपालको ठूलो भूभाग डुवानमा पर्ने गरेको छ र यसको स्थायी समाधानको लागि आपसी सहयोग अपरिहार्य छ । बाढी नियन्त्रणको समाधानको रुपमा सिंचाई,जलविद्युत र जलमार्गको विकास गर्ने संभावनालाई कार्यान्वयनमा लैजाने सहमति गर्नु सान्दर्भिक हुन्छ । 
(८) नेपाल र भारतबीच प्राचीनकालदेखि नै अत्यन्त नजिकका धार्मिक संबन्ध रहिआएकोले धार्मिक पर्यटनको विकासको लागि चिनियाँ पर्यटकहरुलाई समेत भित्र्याउन सक्ने गरी आपसी सहयोग बिस्तार गर्नु आवश्यक छ । 
(९) विशेष गरी भारतको विहार क्षेत्र र गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीलाई जोड्ने अन्र्तराष्ट्रिय पर्यटक क्षेत्रको रुपमा लुम्विनी क्षेत्रको विकास गर्न सहकार्य गर्ने व्यापक संभावना रहेको छ । 
(१०) भारत र चीनबीच बढ्दै गएको व्यापारिक संबन्धलाई मध्यनजर गर्दै नेपालको भूभाग भएर चीन र भारत जोड्ने व्यापारिक सडकमार्ग विकास गर्न भारत सरकारलाई प्रस्ताव गर्नु उपयुक्त हुनसक्छ । 
(११) यसै गरी पूर्व पश्चिम रेलमार्ग निर्माणको लागि भारतीय सरकारको सहयोग महत्वपूर्ण हुनसक्छ । 
(१२) माथि उल्लेखित बुँदाहरुसँगै नेपाल र भारतबीच सन् १९५० भएका सन्धीलाई समेत परिमार्जन गर्ने अबसरको रुपमा पनि यो भ्रमणलाई उपयोग गर्न सकिन्छ । 
माथि उल्लेखित विषयहरु बाहेकपनि नेपाल भारतवीचका विविध द्धिपक्षीय हीतलाई मध्यनजर गर्दै समाजवादी अवधारणामा अन्य प्राथमिकताका विषयहरुमा समेत छलफल गर्न सकिने संभावनाहरु रहेका छन्् । पक्कै पनि दुई देशबीच यस भ्रमणबाट नयाँ स्तरको संबन्ध स्थापना हुनेछ । नेपाल भारतवीच हुने सन्धी सम्झौताहरु समानताका आधारमा हुनुपर्छ र दुवै देशको राष्ट्रिय हीतमा हुनेगरी भ्रमण सफल हुनु आजको आवश्यकता भएको छ । पक्कै पनि नरेन्द्र मोदी भारतको मात्र नेता नभएर समग्र सार्क क्षेत्रको सफल नेताको रुपमा स्थापित हुन सकुन् । नरेन्द्र मोदीलाई नेपाल भ्रमणको अग्रिम शुभकामना ।

खिमानन्द कँडेल
सिभिल/जलविद्युत इन्जिनियर
महासचीव (जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल)

khimanandakandel@yahoo.com

 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np