WECAN

water

News & Events

केन्द्रीय प्रसारण लाइनका कारण लघु जलविद्युत् सङ्कटमा

  Micro Hydroलघु जलविद्युत्को जिल्लासमेत भनेर चिनिने बागलुङका पुराना लघु जलविद्युत् आयोजना बन्द हुने अवस्थामा पुगेका छन् । करोडौंको व्यक्तिगत र सामुदायिक लगानीमा निर्माण गरिएका त्यस्ता आयोजना केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि विस्थापित हुने अवस्थामा पुगेको जिल्ला ऊर्जा तथा वातावरण शाखा अधिकृत रमेश महर्जनले अभियानलाई बताए ।‘जिल्लाको गलकोट क्षेत्रका हरिचौर, मल्म र हटिया गाविसमा मात्रै ६ ओटा आयोजना बन्द हुने अवस्थामा पुगेका छन्,’उनले भने ।  ती आयोजनाबाट ३ सय ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । यिनको निर्माणमा करीब रू.५ करोड २५ लाख खर्च भएको स्थानीय ज्ञानबहादुर थापाले जानकारी दिए । उनले तत्कालीन समयमा यातायातको पहुँच नभएकाले निर्माण सामग्री ढुवानीमा लागत बढी परेको जानकारी दिए । ती ६ ओटै आयोजना स्थानीयको लगानीमा निर्माण भएका हुन् ।
त्यस्तै, २०५६ सालमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘वसन्त वाटर टर्बाइन तथा ग्रामीण विद्युतीकरण आयोजना’ विगत २ वर्षदेखि बन्द छ । मल्ममा केन्द्रीय विद्युत् विस्तार भएपछि आयोजना बन्द भएको सञ्चालक वसन्त केसीले बताए । रू. ३६ लाख लगानीमा निर्माण गरिएको उक्त आयोजना बन्द भएपछि केसीले अहिले ऋणको भार बोक्नुपरेको छ ।‘भएको खेत पनि बेचेर आयोजनामा लगानी गरेँ,’ केसीले भने ‘तर, आज आयोजना सञ्चालनमा छैन ।’३५ किलोवाट क्षमताको उक्त आयोजनाबाट मल्म गाविसका ४ सय ५० घरमा बिजुलीबत्ती बलेको थियो भने स्थानीयस्तरमा फर्निचर, कुटानीपिसानी मिल सञ्चालित थिए । यस्ता साना आयोजनाको बिजुली केन्द्रीय ग्रीडमा जोड्ने सरकारी नीति नभएका कारण आफूहरू मर्कामा परेको केसीले बताए । त्यसैगरी, हरिचौर गाविसमा सञ्चालित चारओटा त्यस्ता आयोजना अलपत्र बनेका छन् । मल्म गाविसलाई लक्षित गरी २०५५ सालमा हरिचौरमा निर्माण गरिएको ‘कार्की बहुउद्देश्यीय राइस मिल तथा साना विद्युत् आयोजना’ पनि बन्द छ । ६५ किलोवाट क्षमताको उक्त आयोजनाबाट मल्म र हरिचौर गाविसका ४ सयभन्दा बढी घरमा बिजुली पुगेको थियो । १ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त आयोजनाका सञ्चालक नै अहिले बिचल्लीमा परेका छन् ।‘घरखेत र साहूको ऋण लिएर लगानी गरियो । आज यो अवस्था भयो,’आयोजना सञ्चालक गुमा भण्डारीले भनिन् । कराडौंको लगानी गरेर आयोजना शुरू गरेको केही वर्षमै गुमाले श्रीमान् पनि गुमाउनुपरेको थियो । गुमाका श्रीमान् कृष्णको २०६५ सालमा बिजुलीको काम गर्दा पोलमा करेण्ट लागेपछि मुत्यु भएको थियो । योजना बनाउँदा लागेको रू.८० लाख ऋण साहूलाई तिर्न नसकेपछि भएको त्यही एउट मिल र साना विद्युत् योजना गरी रू.३० लाखमा साहूलाई दिने सम्झौता गरिसकेको भण्डारीले बताइन् । ६५ किलोवाट क्षमताको अत्याधुनिक जेनेरेटर, टर्बाइनलगायत विद्युत् आयोजनाका सामान पनि प्रयोगविहीन अवस्थामा रहेको उनले बताइन् । त्यस्तै, हरिचौरमा ५० किलोवाटको गलकोट लघु जलविद्युत् आयोजना, रेशम मिल तथा साना विद्युत् आयोजना, हटिया गाविसमा रहेको मिल तथा साना विद्युत आयोजनालगायत लघु जलविद्युत् आयोजना अत्रपत्र बनेका हुन् । १० नयाँ आयोजना निर्माणको चरणमा बागलुङमा अहिले ८५ ओटा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । ती आयोजनाबाट करीब ३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी)ले अहिले आठओटा र जिल्ला ऊर्जा तथा वातावरण शाखाले दुईओटा गरी १० ओटा आयोजना निर्माणको चरणमा छन् । ती १० आयोजनाबाट करीब ९ सय किलोवाट विद्युत् उत्पादन हुने डीसीआरडीसीका इञ्जिनीयर गङ्गा आचार्यले जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत प्रतिकिलोवाट रू.१ लाख ९५ हजार अनुदान दिने गरेको बताए ।

ग्रीड निर्माणको माग

लघु जलविद्युत् आयोजना लगानीकर्ताहरूले मिनी ग्रीडको अवधारणाअनुसार काम हुन सके रुग्ण अवस्थामा रहेका आयोजना पुनः सञ्चालनमा आउन सक्ने बताएका छन् । त्यसका लागि सरकारीस्तरबाटै पहल गरिनुपर्ने उनीहरूको माग छ । गाउँमा विस्तार गरिएका तार र पोल पनि प्रयोग नलाग्ने अवस्थामा पुगेका छन् । आयोजना बन्द भएपछि उपकरण बिग्रने चिन्ताले सञ्चालकहरूलाई सताएको छ । सरकार र विद्युत् प्राधिकरणले कुनै नीति तथा कार्यक्रममार्फत समस्याको सम्बोधन गरिदिए आफूहरूलाई राहत मिल्ने उनीहरूको आशा छ । विद्युत् प्राधिकरणले भने केन्द्रमा रहेको ऊर्जा खरीद शाखाको अनुमतिमा मिटर जोडेर लघु जलविद्युत् योजनाको बिजुली केन्द्रीय ग्रीडमा जोड्न सकिने बताएको छ । प्राधिकरण बागलुङ शाखाका प्रमुख विष्णुप्रसाद यादवले प्राधिकरणले अन्तरराष्ट्रिय गुणस्तरको विद्युत् प्रणाली अपनाएको हुँदा त्यसैअनुसारको भए मात्र ग्रीडमा जोड्न सकिने बताए । @सुवास कँडेल/बागलुङ /Abhiyan 
 

 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np